हुम्लामा अझै पुगेन पाठ्यपुस्तक


११ श्रावण २०७८, सोमबार

हुम्ला, ११ साउन । कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तक समेत पुगेको छैन ।

कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

१८ वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको हो । प्रकाशन गृहले जिल्लामा पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेको छ । ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले प्रतिक्रिया दिए ।

उनले भने, ‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ ।’ उनले अबको एक दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताए । उनले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन् । यी तीन वटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन् र त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ ।

खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ । बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा आफूहरुको पठनपाठनमा निकै घाटा भएको गुनासो गरे । विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याई दिएको भए घरमै बसेर पनि अध्ययन गर्न सकिने रावतकको भनाइ थियो । पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका एजेन्टको लापरवाहीका कारण आफूहरुले समयमै पुस्तक नपाएको रावतले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७