अब कित्ता क्लियर भयो, मुद्दा छाडेका छैनौं : शरतसिंह भण्डारी


११ श्रावण २०७८, सोमबार
Saratsingh Bhandari

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता शरतसिंह भण्डारीले अब पार्टीको कित्ता क्लियर भएको बताएका छन् । निर्वाचन आयोगले आधिकारिकता विवाद टुङ्ग्याउँदै गर्दा पत्रकारहरूसँगको कुराकानीका क्रममा आफूहरुले निष्ठाको राजनीति गरेकाले बहुमत–अल्पमतले केही फरक नपार्ने उनले बताएका छन् ।

‘पार्टीभित्र दुईटा विचार आयो त्यहीकारण निर्वाचन आयोगमा सनाखत भएको हो । आधिकारिकता माग्ने विषयमा सर्वोच्चबाट पनि फैसलाहरू आएका छन्’, उनले भने, ‘अदालतको फैसला हामी मान्छौं, निर्वाचन आयोगको कुरा पनि मान्छौं ।’

उनले अझै पनि अध्यक्ष महन्थ ठाकुरले गत फागुनमा पुनर्गठन गरेर बनाएको कार्यकारिणी समिति नै आधिकारिक रहेको जिकिर गरे । ‘अध्यक्ष ठाकुरले बनाएकै कार्यकारिणी समिति आधिकारिक हो । तर आयोगले राजपा र संघीय समाजवादी पार्टी मिलेर बनेको कार्यकारिणी समिति आधिकारिक भनेको छ’, उनले भने, ‘अब कित्ता क्लियर भएको छ । हिजोसम्म एउटाको बैठक छाडेर अर्कामा जान्थे, आजदेखि हाम्रो पक्षमा जति थिए प्रष्ट भएको छ । जसले यो प्रक्रियालाई अघि बढाएका थिए कायम रहे ।’

उनले अहिले पनि केही नेताहरुले कित्ता परिवर्तन गरेको बताए । ‘केही साथीहरुले रातारात कित्ता परिवर्तन गरे । हामीले अर्को पार्टी खोलेको पनि होइन’, उनले भने, ‘उपेन्द्र यादवको अनुहार हेरेर पार्टी एकता गरेको होइन । उपन्द्रजीलाई त हामीले रेस्क्यु गरेको हो । मधेसका मुद्दा छाडिसकेको अवस्थामा त्यसलाई उठाउन एकता गरेका थियौं । अहिले पनि हामी मुद्दाकै पक्षमा छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७