चैतसम्म ३ करोड २३ लाख डोज खोप ल्याइने


११ श्रावण २०७८, सोमबार
nepal airlines korona

काठमाडौं, ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म एक करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने आधार तय भएको भन्दै चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने दावी गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा मन्त्रालयका अधिकारीहरूले कोभ्याक्स कार्यक्रमबाट एक करोड १३ लाख डोज, कोभ्याक्स अन्तर्गत लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन र सिनोभ्याकको एक करोड ५० लाख डोज तथा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने जानकारी दिएका हुन् ।

छलफलमा नव नियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गरे । छलफलमा एमाले सांसद योगेश भट्राईले चीनको भेरोसेल खोपलाई धेरै मुलुकले मान्यता नदिएकाले विद्यार्थी र श्रमरोजगारीमा जानेहरूलाई समस्या भएको भन्दै धेरैभन्दा धेरै देशले मान्यता दिने खोप खरिदमा कुटनीतिक पहल गर्न सुझाव दिए ।

समितिका सदस्यहरूले नेपालमै कोरोना भाइरस विरुद्धको खोप बनाउन पहल गर्नुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने, उपचार र संक्रमण नियन्त्रण गर्न खर्च भएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७