जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई


११ श्रावण २०७८, सोमबार
upendra yadav@Nirwachan aayog

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो ।

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो । उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए । एक सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।

आयोगमा सनाखतपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताए । उनले आधिकारीक पार्टी नै आफुहरु रहेको बताए । प्रतिगमनलाई साथ दिएर पार्टीका केहि नेताहरुले पार्टीलाई नै धोका दिएको उनको भनाई छ ।

त्यस्तै जसपा नेता राजकिशोर यादवले पार्टीलाई एकतावद्ध बनाउने आफुहरुको प्रयास रहेको बताए । यादव पक्षलाई साथ दिनुभएका यादवले पार्टीलाई जोगाउनुपर्ने जिकिर गरे ।

यस्तै जसपा नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाए । प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने उनले बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको उनको भनाई छ । समाजवादी पार्टी फुट्ने बेलामा पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेको महत्तोले बताए । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए।

त्यस्तै जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बस्दै आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको उनले बताए । जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न नियत र नैतिकताले नदिएको उनको भनाई छ । उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरे ।

जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।

जसपा विवादमा निर्वाचन आयोगको १९ पन्ने फैसला (पूर्णपाठ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७