माधव पक्षको निर्णय : ‘सम्मानजनक’ एकता

एमालेमै रहने, एकताका लागि अझै पहल जारी राख्ने


११ श्रावण २०७८, सोमबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, ११ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप जोड दिने निष्कर्ष निकालेको छ ।
काठमाडौंको बुद्धनगरमा आइतबार र सोमबार बसेको माधव नेपाल पक्षीय नेताहरुको वैठकमा स्थायी कमिटीका नेताहरुको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको ठहर गरेको गर्दै थप प्रयास जारी राख्ने निष्कर्ष निकालेको हो ।

वैठकले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएको हो । ‘पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भयो’, नेता रघुजी पन्तले भने, ‘सम्मानजनक एकता गर्नुस्, त्यसको प्रक्रिया पुर्‍याउनुस् । त्यसमै दुबै पक्षको भलो हुने नेताहरुले सुझाव दिनुभयो ।’

योसँगै एकतालाई टुङ्गोमा पुर्‍याउन गालीगलौजलाई बन्द गरेर थप प्रयास गर्नुपर्नेमा जोड दिएको छ । बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

‘पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासहरुलाई छिटो टुंगोमा पु¥याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो । सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्’, नेता रघुजी पन्तले बैठकपछि भने, ‘तर दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन ।’

देशभरका कार्यकर्ताको चाहना पनि एकता नै रहेको उनले बताएका छन् । ‘नेकपा एमालेका देशभरीका कार्यकर्ता, मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ’, उनले भने, ‘त्यसैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनु पर्छ भन्नेमा जोड दिइएको छ ।’

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिएका छन् । पार्टीलाई एकतावद्ध बनाउँदै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उनले बताए । बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनः स्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७