भारतका असम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु


१२ श्रावण २०७८, मंगलवार
india police CIShhr3X0C

नयाँदिल्ली, १२ साउन । भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्– ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ सोमबार असाम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको थियो । उक्त झडपमा फायरिङ समेत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यो विषयमा असमका मुख्यमन्त्री शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथंगाले पनि सामाजिक सञ्जालमा एक अर्कालाई चर्को आरोप लगाउँदै आएका थिए । यद्यपि पछि उनीहरुबीच वार्ता भएको कुरा बाहिर आएको थियो ।

६ प्रहरी जवानको मृत्यु भए लगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुबै राज्यका मुख्यमन्त्रीलाई त्यहाँ शान्ति स्थापना भएको कुरा सुनिश्चित गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीद्धय शर्मा र जोरामथंगाले झडप भएको सीमा क्षेत्रमा केन्द्र सरकारले नै हस्तक्षेप गर्नुपर्ने राय प्रकट गरेका थिए ।

मिजोरम राज्यको उसका दुई छिमेकी राज्य असम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ । गत वर्ष पनि यो क्षेत्रमा तनावको स्थिति सृजना भएको थियो । त्यसबेला केन्द्र सरकारले हस्तक्षेप गरेको थियो । असममा शर्मा मुख्यमन्त्री बनेपछि परिस्थिति फेरि बदलिएको छ । पछिल्ला दिन तनाव बढ्दै गएको छ । दुई राज्य बीचको सीमा विवाद अझै टुंगिन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७