आर्केस्ट्रामा नृत्य गर्न भारत गएका चार नेपाली युवतीको उद्धार


१२ श्रावण २०७८, मंगलवार
mahila
सांकेतिक तस्विर

पर्सा, १२ साउन । जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपालको संयुक्त प्रयासमा भारतबाट चार नेपाली युवतीको उद्धार गरिएको छ ।

भारतमा आर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइएका चार जना युवतीलाई उद्धार गरी नेपाल फर्काएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। वीरगञ्जबाट करिब ३० किमी टाढाको भारतीय सहर छौडादानोबाट ती युवतीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

उद्धार गरिएका युवतीमा तीन जना झापाका र एक जना सुनसरीका छन् । जसमध्ये एक जना १६ वर्षीय र बाँकी ३ जना १९ र २० वर्ष उमेर समूहका युवती रहेका खनालले बताए । उनीहरुलाई नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको छ ।

पहिलेदेखि नै आर्केस्ट्रामा नृत्य गर्दै आएकी एक युवतीले बाँकी तीन युवतीलाई आर्थिक प्रलोभनमा पारेर भारत लगेको पाइएको प्रहरीले जनाएको छ । गत साता मात्रै उनीहरु बाराको कवही नाका हुँदै लुकिछिपी भारत प्रवेश गरेका खुलेको माइती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरीले जानकारी दिइन् ।

उनीहरुलाई दैनिक १५ सय भारु पारिश्रमिकको प्रलोभन देखाइएको थियो । छौडादानोमा अरु धेरै नेपाली युवती पनि आर्केस्ट्रामा नृत्य गर्दै आएका उद्धार गरिएका युवतीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७