एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत


१२ श्रावण २०७८, मंगलवार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, १२ साउन । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ । लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो ।

नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए । ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ । यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो । मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिव समेत रहेका भीम आचार्यले भने ।

उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ । ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ । युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो ।

पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ ।

‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासलाई छिटो टुंगोमा पुर्‍याउन थप प्रयास थाल्ने कुरा भएका छन् । सबै साथीको जोड एकतामै छ । त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने । ‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनु पर्छ । कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनु हुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७