पार्टी एकताको प्रयास जारी रहन्छ, सरकारमा सहभागी हुन्छौं : माधव नेपाल


१२ श्रावण २०७८, मंगलवार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, १२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मंगलबार बिहान भएको भेटमा नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी गराएका हुन् । उनले बैठकमा नेता नेपालको भागमा एक जना प्रदेश प्रमुख र एक जना योजना आयोग सदस्य पनि छुट्याइएको बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए । ‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौं भन्नु भएको छ’, बैठकमा बोल्दै दाहालले भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौं । सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ ।’

यसैबीच हिजोको माधव पक्षीय नेताहरुको स्थायी कमिटी बैठकले एमालेमा चलिरहेको एकतालाई नै अघि बढाउने निर्णय लिएको थियो । नेता रघुजी पन्तले बैठकबाट एमालेमै रहने निर्णय भएको बताउँदै त्यसका लागि छलफल तीव्र बनाउने निर्णय भएको उल्लेख गरेका थिए ।
यसैबीच माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसेको छ ।

बैठकमा आफ्नो भागमा परेको प्रदेश प्रमुखसहितका पदमा पठाउने व्यक्ति र मन्त्रिपरिषद् विस्तारबारे कुरा भएको थियो । माओवादीले गण्डकीमा अमिक शेरचनलाई सिफारिस गर्ने भएको छ । यस्तै प्रदेश–२ बाट हटाइएका तिलक परियारलाई पनि फेरि सिफारिस गरिएको छ । तर मन्त्रिपरिषद्मा पठाउने थप सदस्यबारे भोलि निर्णय लिने तयारी माओवादीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७