लुम्बिनी सरकारमा सहभागी तीन सांसदलाई जसपाले गर्‍यो निष्कासन

सभामुखलाई पत्र लेख्ने निर्णय


१२ श्रावण २०७८, मंगलवार
lumbini province uZJy1jKbcy

काठमाडौं, १२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई जनता समाजवादी पार्टीले कारवाही गर्दै निष्काशन गरेको छ । जनता समाजवादी पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित तीन प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

आज (मंगलबार) बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई निष्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय पनि लिएको छ । जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्ने छन् । जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई भने समस्या पर्ने देखिएको छ ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो । पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो । उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि ती सांसदहरुलाई कारबाही गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७