पोखरा विश्वविद्यालयले दीक्षित नगर्दा हजारौं विद्यार्थी मर्कामा


१३ श्रावण २०७८, बुधबार
PU 20210728003512

पोखरा, १३ साउन । यमुना क्षेत्रीले पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायबाट स्नातक सकेको ३ वर्ष पुग्यो । उनले उत्तीर्णको लब्धांकपत्र पनि पाइसकिन् । तर, दीक्षित हुन पाएकी छैनन् । उनी उत्तीर्ण भएयता विश्वविद्यालयले दीक्षान्त समारोह नै गरेको छैन । उनका सबै साथीहरूको हालत पनि उही छ । अझ स्नातक सकेर विदेश जान खोजेका साथीहरूको बिजोग भएको उनी बताउँछिन् ।

‘विदेशको विश्वविद्यालयमा छात्रवृत्ति आवेदन दिएको छु,’ क्षेत्रीले भनिन्, ‘त्यहाँ त दीक्षान्त भएको प्रमाणपत्र पनि चाहिँदो रहेछ ।’ त्यत्तिका कारण आफ्ना थुप्रै साथीहरू थप अध्ययनका लागि विदेश जान नपाएको उनले सुनाइन् । ‘पढेर त सकियो तर कन्भोकेसन (दीक्षान्त) नहुँदा खुसी हुन नसकिँदो रहेछ,’ उनले भनिन्, ‘के नपुगे जस्तो र पूर्ण नभएको जस्तो भएको छ ।’ दीक्षान्त नभएकै कारण हजारौं विद्यार्थी मर्कामा परेका क्षेत्रीले सुनाइन् ।

सुनील तिमिल्सिनाले पनि पोविविबाटै एमबीए सकेका हुन् । उनले पनि दीक्षान्त समारोहमा भाग लिन पाएका छैनन् । ‘दीक्षान्त नहुनु भनेको त विद्यार्थीले पहिचान नपाउनु हो,’ उनले भने । धेरै विद्यार्थीले दीक्षान्त नभएकै कारण थप अध्ययनका लागि विदेश जान नपाएको गुनासो आफूहरूलाई आइरहेको पोविवि स्ववियुका संस्थापक सभापतिसमेत रहेका तिमिल्सिना बताउँछन् ।

‘कोभिड भएकैले कतिपय देशमा जान नमिलेर मात्रै हो, नत्र धेरै विद्यार्थीको ठूलो दबाब छ दीक्षान्त गर्नुपर्छ भनेर’, उनले भने । प्रतीक्षा गैरे पनि जनसंख्या, लैंगिक तथा विकासमा स्नातकोत्तर गरेर दीक्षान्तबिनै बसिरहेकी छन् । उनले भाइबहिनीहरूको दीक्षान्त हुने बेलासम्म पनि आफूहरूलाई अवसर नआएको भन्दै दुखेसो पोखिन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल भने आफ्नो ध्यान दीक्षान्त गर्नमै रहेको बताउँछन् । ‘दसैंपछि वा फागुनसम्ममा दीक्षान्त गछौं,’ उनले भने । विश्वविद्यालयले दीक्षान्त नगरेको २ वर्ष पूरा भइसकेको छ । अर्यालले २ वटा दीक्षान्त एकैचोटी २ दिन भए पनि गर्ने योजनामा आफूहरू रहेको बताएका छन् । कोभिड–१९ को कारण पनि दीक्षान्त समारोह गर्न कठिन भएको उनको भनाइ छ । तर, त्रिभुवन र काठमाडौं विश्वविद्यालयले भने भर्चुअल्ली भए पनि दीक्षान्त समारोह गरिसकेका छन् ।

दीक्षान्त समारोहका लागि धेरै तयारी गर्नुपर्ने हुँदा पनि ढिला हुन गएको उपकुलपति प्राडा अर्यालले बताए। तर उनी स्वयं उपकुलपति भएर आएको पनि १ वर्ष हुन लागेको छ । उनी २०७७ असोज १४ गते पोविविमा उपकुलपति नियुक्त भएका हुन् । २०७६ अघिसम्म भने पोविविको दीक्षान्त समारोह निरन्तर भइरहेको थियो । तत्कालीन उपकुलपति प्राडा चिरञ्जीवी शर्माको कार्यकाल सकिएको झन्डै १ वर्षपछि मात्रै पोविविले उपकुलपति अर्याल पाएको थियो । अर्यालले २०७८ वैशाख ६ गतेमात्रै डा. दीपक भण्डारीलाई रजिस्टार नियुक्त गरेका थिए ।

पोविविमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि विद्यार्थीले आन्दोलनै समेत गर्नुपरेको थियो । तत्कालीन कुलपति तथा प्रधानमन्त्री केपी ओलीका पालामा उनकै पार्टी र सत्ता साझेदार माओवादीबीच भागबन्डामा कुरा नमिल्दा पोविविले लामो समय उपकुलपति लगायत पदाधिकारी पाएको थिएन । पछि ओलीले माओवादीको सट्टा कांग्रेसको भागमा पोविवि पारेर अर्यालको नियुक्ति गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७