भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ


१३ श्रावण २०७८, बुधबार
bharuwa banduk
सांकेतिक तस्विर

खोटाङ, १३ साउन । खोटाङका एक जनप्रतिनिधि भरुवा बन्दुकसहित पक्राउ परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडा सदस्य पर्शुराम बाँनियाँलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँनियाँसहित तीन जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनीहरुले घरमा भरुवा बन्दुक लुकाएर राखेको भनेर स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

वडा सदस्य बाँनियाँसगै सोही ठाउँका ६९ वर्षीय मदनबहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । उनीहरुविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

वडा सदस्य परशुरामको घरबाट एक थान भरुवा बन्दुक, मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक साहले बताए । थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७