सांसद पद पुनर्वहालीको माग गर्दै चार पूर्व माओवादी नेताद्वारा सर्वोच्चमा रिट


१३ श्रावण २०७८, बुधबार
mantri

काठमाडौं, १३ साउन । नेकपा एमाले प्रवेश गरेका चार पूर्व माओवादीका नेताले सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

पूर्व मन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्वहाली गरिदिनु पर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले जानकारी दिए । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमालेको दशौं महाधिवेशन कमिटी भङ्ग गरिदिएकाले आफूहरू पार्टीविहीन अवस्थामा रहेको नेता रायमाझीको गुनासो छ ।

सर्वोच्चले कर्णाली प्रदेशका सांसदलाई पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि पद बिउँताउनुपर्ने रायमाझीले बताए । माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन् ।

कारबाही गर्दा आफूहरूलाई सफाइको मौका पनि नदिइएकाले कारबाही बदर गर्न लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माग गरेका छन् । यो रिटको पेसी भोलि बिहीवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७