जसपाभित्र मन्त्री छान्न यादवलाई सकस


१४ श्रावण २०७८, बिहीबार
baburam upendra

काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन् । यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो ।

मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए । बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए । बुधबार पुनः बैठक बोलाइएको छ ।

मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो । बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए । समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताए । ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो । यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले भने ।

स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ । मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ ।

मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन् । निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए । उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७