प्रतिगमन स्वीकार्दैनौं, कमल थापाहरु खुशी नहुँदा हुन्छ : मिलन पाण्डे


१४ श्रावण २०७८, बिहीबार
milan pandey bibeksheel nepali dal 1 kGq10DIMUa

काठमाडौं, १४ साउन । अध्यक्ष रवीन्द्र मिश्रले ‘संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह’ गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई धेरै जनाले अब पार्टी कसरी अगाडि बढ्ला भनेर सोध्न थालेका छन् ।

अध्यक्ष मिश्रका विचार सार्वजनिक हुनासाथ आफूलाई धेरै साथीले पार्टीको आगामी यात्राका विषयमा प्रश्न गरिरहेको संयोजक पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

जवाफमा उनले पार्टीले प्रतिगमन नस्वीकार्ने कुरामा ढुक्क हुन भनेका छन् । विवेकशील साझाले फेरि देशलाई द्वन्द्वमा लाने तथा २०–२५ वर्ष पछाडि धकेल्ने नीति नलिनेमा विश्वस्त रहन आग्रह गरेका छन् । यसै कारण कमल थापाहरूलाई खुशी नहुन पनि उनले सुझाव दिएका छन् ।
‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ । स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरूसहितको दस्तावेज आउने छ । अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ,’ संयोजक पाण्डेले भनेका छन्, ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन ।’

उनले अगाडि भनेका छन्, ‘देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन । त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुशी हुन जरुरी छैन ।’ यसअघि पनि पाण्डेले अध्यक्ष मिश्रको धारणा सार्वजनिक हुनासाथ त्यो मिश्रको ‘व्यक्तिगत धारणा’ भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७