सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै


१४ श्रावण २०७८, बिहीबार
Satta gadabandan baithak Baluwatar 2

काठमाडौं, १४ साउन । सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक नेताले जानकारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) आन्तरिक व्यवस्थापनमा लाग्दा साझा कार्यक्रम निर्माण गर्न ढिलाइ भएको बताइएको छ ।

कुन पार्टीले कति र कुन–कुन मन्त्रालय लिने भन्नेबारे छलफल हुने स्रोतको दाबी छ । कुन पार्टीलाई कति मन्त्रालय भन्ने टुङ्गो लागेपछि कसलाई मन्त्रीमा पठाउने पार्टीहरुले निर्णय गर्ने छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७