झापाका १० पालिकामा शिलबन्दी


१४ श्रावण २०७८, बिहीबार
lockdown

झापा, १४ साउन । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा शिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन शिलबन्दी गरिएको हो ।
१५ पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा शिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोच विचार गरिरहेको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताए । ‘जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा शिलबन्दी गर्न थालिएको हो’, प्रजिअ तिम्सिनाले भने, ‘सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई शिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।’
शिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधन बाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीले बताए ।

झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर शिलबन्दीको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफै सचेत हुनुपर्नेमा लापरवाही गरिरहेका कारण सङ्क्रमितको दर बढ्दै गएको पालिकाहरुको ठहर छ । सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।

जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा शिलबन्दी घोषणा गरेको थियो । त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा शिलबन्दी गरिएका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना सङ्क्रमित थपिएका छन् । पालिकाहरु शिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७