गठबन्धनमा मिल्यो मन्त्रीको भागबण्डा : कांग्रेस ८, माओवादी र जसपालाई ७ मन्त्रालय


१४ श्रावण २०७८, बिहीबार
Dauba prachanda and upendra

काठमाडौं, १४ साउन । सरकार विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ ।

गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरुको मन्त्रालय संख्या भागबण्डा मिलाएको हो । गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता विनै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी भागबण्डा मिलाएको हो । आज (विहीबार) बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्ष विनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एकले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको तर टुङ्गोमा पुगिनसकेको जनाइएको छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले जानकारी दिएको छ । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ ।

गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि कांग्रेस र जसपाको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । त्यस्तै जसपा कार्यकारिणी समिति बैठक पनि शुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७