माधव नेपाल पक्षलाई सरकारमा ल्याउन प्रचण्डको प्रयास जारी, कोटेश्वरमा भेटवार्ता


१४ श्रावण २०७८, बिहीबार
madhav nepal prachanda scaled

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर नेतृत्वको सरकारमा मन्त्रिमण्डल विस्तारको कसरत चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

देउवा सरकारको नेतृत्वमा आएको यतिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेका हुन् । सत्ता पक्षीय गठबन्धनमा सहभागिता जनाउँदै आएका एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउन प्रचण्डले कसरत गरिरहेका छन् ।

तर, नेता नेपालले भने आफूहरु अहिले पनि एमालेको एकताकै पक्षमा रहेको बताउँदै अहिले सरकारमा सहभागी नहुने बताइसकेका छन् । तर नेपाल पक्षका २२ सांसदले भने सरकारमा सहभागी हुनुपर्ने दवाव दिंदै आएका छन् । नेपाल पक्षका २२ सांसदले सरकारमा सहभागी हुनुपर्ने दवाव दिइरहेकै बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् । सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।

तर, आज बसेको सत्तारुढ गठबन्धनको शीर्ष तहको वैठकले सरकारमा सहभागी हुने मन्त्रीको संख्या भागवण्डा गरेको छ । जसमा कांग्रेसलाई ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई ७–७ मन्त्रालय छुट्याइएको छ । एमालेको माधव नेपाल समूहको सहभागिता बिना नै मोटामोटी मन्त्रालयको भागवण्डा मिलिसकेको भए पनि अध्यक्ष प्रचण्ड सरकारमा नेपाललाई पनि सहभागी गराउने कोशिसमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७