म्याग्दीमा भीरबाट जीप खस्दा एकको गयो ज्यान, आठ जना घाइते


१५ श्रावण २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

म्याग्दी, १४ साउन । म्याग्दीको धवलागिरी –७ बादिकामा शुक्रबार भीरबाट जीप खस्दा एक जनाको ज्यान गएको छ । ताकमदेखि दरबाङहुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडक अन्तर्गत बादिकाको भीरबाट खसेको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएका थिए । चालकसहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।

सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रुहरु बाँच्न सफल भएका छन् । जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।

स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७