याे सरकारलाई असफल हुने छुट छैन : गिरी

‘विदेश नीति अरुलाई होच्याएर आफू उचो हुने विषय होइन’


१५ श्रावण २०७८, शुक्रबार
pradeep giri

काठमाडौं, १४ साउन । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग उठिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले विदेश नीतिबारे दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको आवश्यकता औंल्याएका छन् ।

नेकपा एमालेका सांसद डा. भीम रावलले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पारित गर्न नहुनेमा जोड दिएपछि उनले विदेश नीतिबारेमा दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताएका हुन् । ‘पहिले हामी साझा दृष्टिकोण बनाऔं, भारतकाप्रति, चीनकाप्रति, अमेरिकाकाप्रति,’ सांसद गिरीले संसदको विशेष समयमा भने, ‘अनि सन्धि खारेज गर्ने, के गर्ने, के नगर्ने । को राख्ने, को नराख्ने । यो राष्ट्रिय नीतिको सवाल हो ।’

कांग्रेस नेता प्रदीप गिरीले देशको विदेश नीति आफूलाई उचो देखाएर अरुलाई होच्याउने विषय नभएको बताएका छन् । एमाले नेता भीम रावलले एमसीसीका विषयमा प्रश्न उठाएर राष्ट्रघात हुन लागेको बताएपछि नेता गिरीले त्यसको बौद्धिक प्रतिवाद गरेका हुन् ।

उनले सबै दलहरु साझा विदेश नीतिप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । ‘जबसम्म दलहरु साझा विदेश नीतिप्रति प्रतिवद्ध हुँदैनन्, तबसम्म समस्या रहन्छ’, उनले भने, ‘हामीमध्ये एकअर्कालाई तल देखाएर, तलमाथि देखाएर मुखको तितो पोख्छौं ।’ उनले नेपालीले ‘माल पाए पनि चाल नपाएको’ टिप्पणी गर्दै अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले स्वदेशमै भएको सम्भावनाबारे गम्भीर रुपमा बुझ्न नचाहेको जिकिर गरे ।

‘मैले झण्डै ५५ वर्षदेखि नजिकबाट चिन्दै आएका शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन उभिएको हुँ । शुभकामनासँगै केही आशंकाहरु पनि छन्’, गिरीले प्रश्न गरे, ‘अहिले मात्रै विपक्षका विद्वान मित्रले प्रश्न उठाउनु भएको छ । म उहाँको टिप्पणीमा अहिले नै टिप्पणी गर्न चाहन्न । तर, एमसीसी जस्ता प्रस्तावहरु अन्यत्रबाट पनि आएका होलान् । भारत चीन, अन्य देशबाट पनि त्यस्ता प्रस्ताव आएका होलान् । तर, हरेकजसो देशमा वैदेशिक लगानी होलान्, तर ती देशमा हाम्रो जस्तो विदेश नीतिका विषयमा तथ्यहीन मतभेद होलान् ?’

उनले गणतन्त्रमा आइसकेपछि पनि दलहरुबीच किन साझा विदेश नीति बन्न नसकेको भन्दै प्रश्न उठाए । ‘दलहरुबीच गणतन्त्र आएपछि पनि किन साझा विदेश नीतिप्रति प्रतिबद्धता जनाउने अवस्था निर्माण भएको छैन ?’, गिरीले प्रश्न गर्दै भने, ‘पूर्ववक्ता माननीयले झै आफूलाई बडो उचो बनाउने र अरुलाई होच्याउने प्रयास किन भइरहेको छ ?’ उनले विदेश नीति दल र दलका नेताले आफूलाई उचो बनाउने र अरुलाई होच्याउने विषय नभएको बताए ।

‘हामी विदेशी सहायता बिना पनि आत्मनिर्भर बन्न सक्छौं । हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौं’, गिरीले भने, ‘कोही नेता अपवाद छैनन्, कुनै मन्त्री अपवाद छैनन्, कुनै प्रधानमन्त्री अपवाद छैनन् । उनीहरुले आफ्नो आत्माभित्र चिहाएका छैनन् । मनभित्र हेरेका छैनन् । बाहिर मात्रै हेरेका छन् । लिने कुरोमा पनि, दिने कुरोमा पनि ।’

नेता प्रदीप गिरिले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयलाई लिएर बोल्दै गिरीले २०६२-६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधानका सम्वाहकहरु अहिले सरकारमा रहेको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतको नाम दिँदै उनले भने, ‘यो सरकार असफल भयो भने शेरबहादुरजी असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरुले ।’

उनले अघि भने, ‘संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन, व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुनु भनेको सोच्दा मात्र पनि कहाली लाग्छ मलाई ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७