संसदमा कांग्रेस सांसदको प्रश्न : उखु किसान कहिलेसम्म अन्यायमा परिरहनु पर्ने हो ?


१५ श्रावण २०७८, शुक्रबार
dibyamani X6p8LpzbKE

काठमाडौं, १४ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रतिनिधिसभालाई कतिञ्जेल बिजनेसबिहीन बनाउने हो भन्दै प्रश्न गरेका छन् ।

आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यसूची हेर्दा केही काम नभएको भन्दै संसद कहिलेसम्म बिजनेसबिहीन बन्ने बताए । उनले भने, ‘प्रतिनिधि सभालाई कहिलेसम्म बिजनेसबिहीन बनाउने हो ? आज पनि कार्यसूची हेर्दा कुनै विषय नै छैन् । तसर्थ हामी जनताका सामु कति लज्जित भएर बस्नुपर्ने हो ? यसमा पनि सुदृढिकरण होस् ।’

सांसद राजभण्डारीले उखु किसान फेरि आन्दोलन गर्न काठमाडौं आएको भन्दै उनीहरुको भुक्तानीको समस्या समाधान गर्न आग्रह गरे । उनले संविधानको प्रावधान अनुसार मधेसी दलितको हक अधिकारको बारेमा प्रतिपक्षमा हुँदा पनि आवाज उठाउने गरेकोमा अब सरकारमा आएपछि उनीहरुका लागि कानुन बनाउन आग्रह गरे ।

‘अहिले धर्तीपुत्र कृषकहरुको उखुको भुक्तानी नभएको कुरा आइरहेको छ । यसरी गरिब जनतालाई कहिलेसम्म न्याय नदिने हो ?,’ सांसद राजभण्डारीले भने, ‘त्यसको पनि कार्यान्वयन यथाशीघ्र गर्नको निम्ति यो सरकारसँग अनुरोध छ ।’

सर्लाही र नवलपरासीका किसानहरु उखुको भुक्तानी माग गर्दै अहिले काठमाडौँ आएका छन् । उखु किसान संघर्ष समितिकाअनुसार किसानहरुले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । यसअघि उखु किसानहरुले गत वर्ष मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म काठमाडौंको माइतीघरमा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा एक जना उखु किसानको हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७