‘जुनै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति परिवर्तन हुँदैन’


१५ श्रावण २०७८, शुक्रबार
janardan hou 4SNFpo2MnC

काठमाडौं, १४ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् ।
आज (शुक्रवार) मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पूनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरू सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।

भेटको क्रममा चिनियाँ राजदूत होउले नव नियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिन् ।

चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरू नेपालको साथमा रहँदै आएको बताइन् । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

यस्तै भुकम्पपछिको पूनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरूको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७