ड्युटीमा खटिएका प्रहरीमाथि पारस शाहले गरे दुर्व्यवहार (भिडियो)


१६ श्रावण २०७८, शनिबार
parash shah police fight 0EXlCCiMu8

काठमाडौं, १६ साउन । पूर्व युवराज पारस शाहले ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल चलाएको देखेपछि प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा शाहले प्रहरीमाथि नै अभद्र व्यवहार गरेका हुन् ।

सार्वजनिक भिडियोमा प्रहरीले चौकीमा जानका लागि उनलाई आग्रह गरेको देखिन्छ । तर, शाहले आफू कतै नजाने भन्दै धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका थिए । हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि झ्वाँक्किएका पारसले प्रहरीलाई हप्की दप्कीसहित गालीगलौज पनि गरेका थिए । रोकेपछि आक्रोशित पारसलाई प्रहरीले हातमा समातेर रोकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले ट्राफिक नियम विपरीत सवारी चलाइरहेको अवस्थामा ड्युटीमा तैनाथ कर्मचारीले रोकेर सोधखोज गरेको बताए ।

हेल्मेट नलगाई मोटरसाइकल चलाएकोबारे त्यहाँ जम्मा भएका अन्यले पारसकै गल्ती देखाइरहँदा उनी भने प्रहरीसँग झगडा गर्न तम्सिएका थिए । पारसले प्रहरीलाई हप्काइरहेको भिडियो केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा हालेका छन् । जुन भिडियोमा पारसको हात समातिरहेका एक जना प्रहरीले माथिल्लो निकायमा सञ्चार सेटबाट रिपोर्टिङ गर्दा रक्सी पिएर आएका उनले बिना हेल्मेट मोटरसाइकल चलाइरहेको बताउँदै गरेको सुन्न सकिन्छ ।

ट्राफिक नियम उलंघन गरेकाले प्रहरीले पारसलाई प्रहरी कार्यालय जानुपर्ने बताइरहेका थिए । तर पारसले उनको पुरानै उग्र शैलीमा, ‘जान्न, म जाँदै जान्न, तैंले के गर्छस् ? तँ को होस्’ भन्दै हप्कीदप्की गरिरहेको सुन्न सकिन्छ ।

प्रहरीले पारसलाई समातेर प्रहरी कार्यालयतिर लान खोज्दा खोज्दै उनका समर्थक आएर नाराबाजी पनि गरेका थिए । उनीहरुले पारस सरकार भन्दै नाराबाजी गरेपछि केहीबेर तनाव भएको थियो । तर केही बेरमा पारसका लागि हेल्मेट ल्याएपछि पारसलाई त्यहींबाट छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले जानकारी दिए । भिडियो स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७