स्मार्ट लाइसेन्स : पाउनुभन्दा धाउनु हैरानी


२० फाल्गुन २०७४, आईतवार
smart licence

कास्की, २० फागुन : सरकारले ‘स्मार्ट लाइसेन्स कार्ड’ जारी गरे पनि वितरण सहज नहुँदा सेवाग्राही पाउनु भन्दा बढी हैरानी खेप्न बाध्य बनिरहेका छन् ।smart licence

सम्बद्ध कार्यालयले आफै कार्ड नबनाउने नबनाउने, सबै जानकारी एकीकृत गरी राजधानीबाटै कार्ड प्रिन्ट भएर आउनुपर्ने व्यवस्थाले झनझट बढेको सेवाग्राही बताउँछन् । कार्ड पाइने दिन निश्चित नहुँदा सेवाग्राही बारम्बार यातायात कार्यालय धाउन बाध्य छन् । ‘लाइसेन्स रिन्यु गरेको ६ महिना भयो, स्मार्ट लाइसेन्स पाउन सकिन,’ रामबजारकी खुशीमाया मगरले भनिन्, ‘कति दिन धाउनु ।’ भुजेल र मगर जस्ता सयौं सेवाग्राही यातायात कार्यालयमा दिनहुँ सोध्न पुगिरहेका हुन्छन् । पर्वतकी देवी पौडेल भन्छिन्, ‘कर्मचारी नै लाइसेन्स कहिले आइपुग्छ, किटान साथ भन्न सक्दैनन्, कस्तो व्यवस्था हो यो ?’ सरकारले नागरिकलाई सेवा सहज बनाउनुपर्नेमा उल्टै हैरानी दिएको उनले बताइन । स्मार्ट कार्डको वितरण सहज नभएपछि कर्मचारी पनि जवाफ दिँदादिँदै हैरान छन् ।

पानीमा भिज्ने, च्यातिने, अक्षर मेटिने र नक्कली बनाउनेलगायत असुरक्षा हटाउन यातायात व्यवस्था विभागले हस्तलिखितको साटो स्मार्ट लाइसेन्स वितरण थालेको हो । तर, नयाँ कार्ड झट्टै नपाइने सेवाग्राहीको गुनासो छ । ‘असार महिनामा नाम निकालेको हो, ६ पटक धाइसकियो, अझै लाइसेन्स पाइएन,’ पोखराको छोरेपाटनका देवेन्द्र भुजेलले भने, ‘महिनैपिच्छे आएर सोध्यो, कार्ड आएकै छैन भन्ने जवाफ पाइन्छ ।’ स्मार्ट कार्ड नआउञ्जेलका लागि यातायात कार्यालयले दिने गरेको रसिद पातलो कागज रहेकाले जोगाउनै मुस्किल परेको उनले बताए ।

बीचको पाँच महिना मेशिन विग्रिएकाले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएको यातायात व्यवस्थापन कार्यलय गण्डकीका प्रमुख तेजनारायण यादवले बताए । ‘अब विभागले सेवाग्राहीलाई सहज गराउन १२ वटा नयाँ मेशिन लिएको छ,’ उनले भने, ‘बिस्तारै वितरण सहज हुनेछ ।’ गण्डकी कार्यालयमा मात्रै ५० हजार जनाको स्मार्ट लाइसेन्स प्रिन्ट भएर आउन बाँकी रहेको उनले बताए । यातायात विभागले पठाएका ६ हजार कार्डमध्ये ६ सयवटाका सेवाग्राही नै आइनपुगेको उनले जानकारी दिए । ‘कतिपय सेवाग्राही दोहोर्‍याएर सोध्नै आएनन्, त्यसैले कार्ड आएर पनि उनीहरूका हातमा परेको छैन,’ उनले भने, ‘विभागले बिस्तारै वितरण व्यवस्था सहज बनाउँदै लैजाने नीति लिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७