टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीन शीर्षस्थानमा, जापान दोस्रोमा


१६ श्रावण २०७८, शनिबार
tokyo olympic china

काठमाडौं, १६ साउन । जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ ।
ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा १९ स्वर्णसहित कुल ४० पदक रहेका छन् । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ ।

यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ । रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३४ पदक जितेर चौंथो स्थानमा रहँदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ । नेदरल्यान्ड्स, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, हंगेरी र स्लोभानिया रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ ।

अहिलेसम्म कुल १ सय ३३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४२ राष्ट्रले स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा नेपालको प्रतिस्पर्धा भने शुक्रबारबाट सकिएको छ । नेपालका पाँच खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७