कर्णालीमा खसेको जीप टुक्रा–टुक्रा अवस्थामा भेटियो, अझै भेटिएनन् जोशी दम्पती


१६ श्रावण २०७८, शनिबार
Karnali Rescue team

कैलाली, १६ साउन । कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । तर जिपमा सवार प्रकाश जोशी र उनकी श्रीमती रुवी भने अझै भेटिएका छैनन् ।

शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिएका छन् । ‘टुुक्रा–टुुक्रा भएको अवस्थामा फेला परेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इञ्जिन अझै निकाल्न सकिएको छैन,’ डीएसपी विष्टले भने, ‘शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।’

जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए ।

दुर्घटनामा परेर जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । भुुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचार गरेर नेपालगञ्जबाट फर्किने बेला स–परिवार सोल्टा घुुम्न जाने क्रममा जीप दुर्घटना भएको हुुनसक्ने अनुुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७