सुन लुटपाटपछि साथीले नै गरे ज्ञानुको हत्या, तीन जना पक्राउ


१६ श्रावण २०७८, शनिबार
hatya pakrau 20210731053257

वीरगञ्ज, १६ साउन । वीरगञ्जमा काठमाडौंबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स ) बनाउन आएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज–७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो ।

हत्यामा भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फरार रहेको प्रहरीले जनाएको छ । सर्लाही लालबन्दी नगरपालिका–१ घर भई हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
लाइसेन्स बनाउन सुजन गत बुधबार वीरगञ्ज आएका थिए ।

बिहीबार बिहान वीरगञ्ज–७ रामटोलस्थित सडकमा उनी घाइते र अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेका हुन् । वीरगञ्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोलस्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बियर खाएका थिए ।

बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँटी थिचेर हत्या गरी सुनको सिक्री, सुनको औंठी, घडी र नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए । हत्यामा संलग्नमध्येका तीन जनालाई शुक्रबार पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

फरार रहेका भारतीय नागरिक रविको पनि खोजी भइरहेको खनालले बताए । पक्राउ परेका तीन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७