दार्चुला घटना : भारतीय ज्यादतीविरुद्ध विप्लव समूहले आन्दोलन गर्ने


१६ श्रावण २०७८, शनिबार
biplaw

काठमाडौं, १६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकालीमा नेपाली खसेर बेपत्ता भएको घटनाको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले दार्चुलामा तुइन काटिएको घटनाको विरोधमा दुई दिने देशव्यापी आन्दोलनको घोषणा गरेको हो । ‘तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ,’ पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आज (शनिबार) दिउँसो ३ बजे नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने र सोमबार दिउँसो २ बजे देशव्यापी विरोध सभा गर्ने उल्लेख छ । भारतीय सुरक्षाकर्मीले शुक्रबार तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७