सिंहदरबारमा जसपा वैठक, संसदीय दलको नेता चयन गर्दै


१६ श्रावण २०७८, शनिबार

काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले संसदीय दलको नेता चयन गर्ने जनाइएको छ ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा दलको बैठक बसिरहेको छ । बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति छ । संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जसपाका एक सांसदले जानकारी दिए । कुनै सांसदले उम्मेदवारी दिएमा निर्वाचन गर्ने तयारी रहेको छ ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा सुशीला श्रेष्ठ र रमेश यादव रहेका छन् । समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।

शीर्ष नेताहरूले आफ्ना धारणा राख्ने क्रम सकिएको र बाँकी सांसदहरूले बोलिसकेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्ने ती सांसदले जानकारी दिए । संसदीय दलको नेता चयन गरिसकेपछि सरकारमा सहभागीताबारे छलफल हुने जसपाले जानकारी दिएको छ ।
निर्वाचन आयोगबाट साउन ११ गते उपेन्द्र यादवले आधिकारीकता पाएपछि संसदीय दलको नेता चयन गर्ने पक्रिया थालिएको हो । यसअघि महन्थ ठाकुर पक्षले जसपा संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७