कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, देखिन्छन् यस्ता लक्षण


१७ श्रावण २०७८, आईतवार
korona

काठमाडौं, १७ साउन । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पुर्‍याउन सक्ने विज्ञको चेतावनी छ ।

कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन । बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु–याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।

धुलिखेल अस्पतालका नर्स मनिता कर्माचार्यकी छ वर्षीया छोरीलाई कोरोना सङ्क्रमण भएपछि निकै गाह्रो भयो । उनले भने, ‘साना बालबालिकालाई कोरोनाले गाह्रो हुँदैन भन्ने मेरो पनि सोचाइ थियो । तर, मेरो सोचाइ गलत रहेछ । भोगेपछि थाहा भयो । छोरीलाई बचाउन धेरै कठिन भयो ।’

सबै परिवारका सदस्य कोरोना सङ्क्रमित भएपछि छोरीलाई पनि सातौं दिनमा परीक्षण गराएँ । उनका अनुसार छोरीलाई समेत पोजेटिभ आयो तर खासै लक्षण नदेखिएकाले चिन्ता लागेको थिएन । सङ्क्रमित भएको रिपोर्ट आएपछि छोरीलाई पेट दुख्ने, पातलो दिसा लाग्ने, खान रुचि नहुने, बान्ता हुने जस्ता समस्याले हैरान बनायो । कर्माचार्यले भने, ‘कोरोनाले बालक, वृद्ध कसैलाई पनि छोड्दैन । त्यसैले वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित राख्नु नै सबैभन्दा बुद्धिमत्तापूर्ण काम हो ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार बालबालिकालाई कोरोनाबाट बचाउन अभिभावकले बढी सावधानी अपनाउनु पर्छ । उनका अनुसार कोरोना सङ्क्रमणले बालबालिकामा सुरुमै सामान्य रुघा तथा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षणसँगै श्वासप्रश्वासमा समस्या देखिनेछ । अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उनले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, जिउ दुख्ने, शरीरमा डाबर देखिने बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७