हवाई सञ्जाल विस्तार भएन प्रभावकारी

देशभर ६ विमानस्थल बन्दै, १७ वटा बन्द


२० फाल्गुन २०७४, आईतवार
Airport Runway

काठमाण्डौं, २० फागुन : इलामका नागरिकले निकै चासोका साथ हेरेको र प्रतिक्षा गरिरहेको ‘सुकिलुम्बा’ विमानस्थलको सपना अब चाँडै पूरा हुने भएको छ ।Airport Runway

इलामको गोलाखर्क भञ्ज्याङ्गमा निर्माणाधीन विमानस्थलमा आउँदो चैतसम्ममा परीक्षण उडान गर्ने नेपाल उड्ययन प्राधिकरणले तयारी गरिरहेको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणले चैतसम्ममा विमानस्थल निर्माणको सबै काम सकेर परीक्षण उडान गर्ने योजना रहेको जानकारी दिएको छ । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको सतह मिलाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबग्रेड कार्य भइरहेको भन्दै जानकारी दिंदै न्यौपानेले भने–‘धावनमार्गको लेभल परीक्षण गरेपछि चैत महिनासम्ममा परीक्षण उडान हुन्छ ।’ विमानस्थल ग्राभेलको काम भई नसकेको भए पनि हाल विस्तार भइरहेको धावनमार्गमै परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ । उनले भने–‘विमानस्थलको ९० प्रतिशत काम भइसक्यो, अब धावनमार्ग कालोपत्रे र अन्य केहि काम बाँकी छन् ।’

सात सय मिटर लम्बाई र ६० मिटर चौडाइको धावनमार्ग निर्माणका लागि यो वर्ष एक करोड १५ लाखमा ठेक्का लागेको थियो । आठ करोड रुपैंयाँमा विमानस्थलदेखि केहि तल पर्ने माईखोलासम्म ढल व्यवस्थापनको काम भइरहेको पनि न्यौपानेले जानकारी दिए । विमानस्थल आसपास पहिरोको जोखिम कम गर्न आठ ओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउन ठेक्काको म्याद साउनसम्म भए पनि जोखिम रहेका स्थानमा जेठसम्ममा काम अगाडि बढाइने प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि सात करोड रुपैंयाँ लागतमा धावनमार्ग विस्तारको काम भएको थियो । यस्तै ढल व्यवस्थापन र पहुँच मार्गको काम पनि भएको छ । यो वर्ष परीक्षण उडानपछि धावनमार्ग र टर्मिनल भवन निर्माण थालिने इन्जिनियर न्यौपाने बताउँछन् । उनले टर्मिनल भवनका लागि डिजाइन शुरु भएको जानकारी दिए । पूर्वको पर्यटन प्रवद्र्धन र विकासमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको सुकिलुम्बा विमानस्थल लामो समयसम्म पूरा नहुँदा पूर्वी पहाड इलाम, पाँचथर र ताप्लेजुङ्गका बासिन्दाले विभिन्न समस्या खेप्दै आएका छन् । विमानस्थल निर्माणको काम नसकिंदा यी जिल्लाका बासिन्दा अत्यावश्यक कामले काठमाण्डौंलगायतका विभिन्न शहर जानु पर्दा बिरानगर र झापाको भद्रपुर विमानस्थल आउनुको विकल्प छैन ।

वहुप्रतिक्षित विमानस्थल निर्माण कार्य लामो समय सुस्ताएपछि पूर्वी पहाडका बासिन्दाको विमान चढ्ने सपना पनि अधूरो बनेको थियो । इलाम नगरापालिका–९ भञ्ज्याङ्गको थाप्लोमा रहेको विमानस्थलको परीक्षण उडान हुने कुरासँगै पूर्वी पहाडी जिल्लाका बासिन्दामा फेरि सुकिलुम्बाले आशा जगाएको छ । ६ वर्षअघि तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थल बनेको खण्डमा मेची पहाडका इलाम, पाँचथर, ताप्लेजुङ्ग र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दालाई पनि सेवा पुग्ने छ । १८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी स्थानीयको जग्गा जिल्लास्थित सरोकारवाला निकाय, संघसंस्था र व्यक्तिबाट संकलित दुई करोड २६ लाख रकमबाट अधिग्रहण गरिएको थियो ।

इलाममा मात्र होइन, पाँचथरमा समेत विमानस्थल निर्माणका लागि सर्भे गरिए पनि विमानस्थल निर्माणको काम थालनी समेत भएको छैन । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार मुलुकभर कूल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द रहेका छन् । ६ वटा निर्माणाधीन छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७