कर्णालीमा डुंगा पल्टियो : खोप लगाउन हिंडेका तीन जना बेपत्ता, पाँच जना पौडिएर बचे


१७ श्रावण २०७८, आईतवार

सुर्खेत, १७ साउन । कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । अन्य तीन जनालाई प्रहरी र स्थानीयले उद्धार गरेका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा कर्णाली नदीमा डुंगा पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरा जाने क्रममा आइतबार विहान साढे ११ बजे कर्णालीमा डुंगा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय सुगराखल कैलालीका अुनसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ बस्ने २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनको बच्चा र त्यही ठाउँमा बस्ने २० वर्षीया पार्वती थापा छन् । त्यस्तै घाइते भएकाहरुमा मोहन्याल गाउँपालिका–३ बस्ने १९ वर्षीया धनसरा सलामी मगर र उनकै एक महिनाका छोरा कर्ण सलामी छन् । घाइतेमध्ये आमाको अवस्था गम्भीर छ भने छोरा सामान्य छन् । उनका अनुसार डुंगामा १० जना सवार थिए ।

सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले कैलालीबाट खोप लगाउन आउनेहरु दुर्घटनामा परेको बताए । सरकारले कैलालीको मोहन्याल गाउँपालिकास्थित रांगा मलेखामा खोप केन्द्र ब्यवस्थापन नगर्दा त्यहाँका बासिन्दा बर्षेनी डुंगाबाट कर्णाली तर्न बाध्य छन् । उनीहरु डुंगाबाट खोप लगाउन बिजौरा हेल्थ पोस्ट पुग्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७