मेलम्ची बाढी : ५२ घरसहित पुल समेत बगे


१८ श्रावण २०७८, सोमबार
bahunepati pil

सिन्धुपाल्चोक, १८ साउन । शनिबारदेखि लगातार बाढी आइरहेको मेलम्ची खोलाले हालसम्म ५२ घर बगाएको छ । लगातारको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका २४ पक्की घर र २८ कच्ची घर बगाएको स्थानीयले जानकारी दिएका छन् । असार १ गतेको बाढीले बाँकी राखेका घरहरु बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छ ।

बाढीको बहावले पुल माथिबाट खोला बगेकाले पुलको अवस्था के कस्तो छ भन्ने थाहा हुन नसकेको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका–२ को कात्तिकेखोलामा रहेको पक्की पुल, हेलम्बुको १ र २ वडा जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो । त्यस्तै दुई घर पनि खोलाको वहावले पुरेकाले थाहा हुन सकेको छैन् ।

मेलम्चीमा अहिले पनि पानीको बहाव बढिरहेको छ । बाढीको उच्च जोखिममा ग्याल्थुम बजार र ढुंगे बजार छन् । यता, मेलम्ची बजारमा पनि खोला पसेको छ । असार १ को बाढी पसेर लेदो भरिएको घरहरु सफा गर्दा नगर्दै पुन आज बस्तीमा बाढी पसेको हो । यता मध्यपहाडी लोकमार्ग जोड्ने एक मात्रै बाहुनेपाटीको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । पुलको फाउण्डेशनको भाग बाढीले बगाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७