पानी नपरे पनि सिन्धुपाल्चोकमा रोकिएन बाढी

मेलम्चीमा पटकैपिच्छे बाढी गइरहनु वर्षा मात्रै कारण नभएको प्रारम्भिक निष्कर्ष


१८ श्रावण २०७८, सोमबार
pahiro2021 08 02 09 40 45

काठमाडौं, १८ साउन । पानी नपरे पनि सिन्धाुपाल्चोकमा बाढी–पहिरो अझै रोकिएको छैन । मेलम्ची खोलाको बाढीले तटीय क्षेत्रमा कटान कायमै राखेको छ । मुहान क्षेत्रमा थुप्रिएको लेदोसहित उर्लिएको मेलम्चीको बाढी अहिले पनि कम नभएको स्थानीयले जानकारी दिएका छन् ।

भूकम्पको कम्पनले थिलथिलो बनेको भेमाथाङको विशाल चौर वर्षाको पानीले गलेर पहिरोमा परिणत हुने क्रम रोकिएको छैन । आइतबार बिहानै एभरेस्ट हेलिकोप्टरबाट भेमाथाङ पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले लेदोसहितको बाढी बर्खाभर आइरहने अवस्था रहेको जानकारी दिएका छन् ।

7

यता सिन्धुपालचोकको मेलम्चीमा पटकैपिच्छे बाढी गइरहनु मुसलधारे वर्षा मात्रै कारण नभएको विज्ञ टोलीले प्रारम्भिक निष्कर्ष निकालेको छ । सिन्धुपालचोकको माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
उनीहरुले चनौटे बजार, टिम्बु, नाकोटे, घ्याङफेदी, हेलम्बु र भ्रेमाथाङ र आसपासका क्षेत्रको भौगोलिक अध्ययन गरेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरणले १ असारमा मेलम्चीमा बाढी गएपछि विज्ञ टोली बनाएर सिन्धुपालचोकको बाढी र पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेको थियो । टोलीले रुख नकाटे पनि, डोजर नचलाए पनि माटो कमसल हुँदा विभिन्न कारणले भूक्षय हुने र त्यसले मेलम्चीको जस्तो विपति ल्याएको निष्कर्ष निकालेको छ । हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार मेलम्चीको मुहानको माथि पहिला हिमनदीले ल्याएको थेग्रिनी (सेडिमेन्ट्स) छ ।

5

त्यही ग्रेगानबाट बनेको चौर कमजोर भएर बगेपछि सबै तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको हो । १ असारमा जस्तै शनिबार राति शीरबाट ढुंगा, माटो, रुख बिरुवासहितको लेदो आएर चनौटे क्षेत्रमा घर र पुल बगाएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सिन्धुपालचोकमा थुप्रिएको थेग्रिनी हिमाली क्षेत्रकै सबैभन्दा ठूलो थेग्रिनीमध्येको एक रहेको बताए ।

उनले भने, ‘यो गेग्रानको असर तल दोलालघाट र त्यसको आसपासको क्षेत्रमा समेत पर्न सक्छ । बाढीले थेग्रानी कति ल्यायो भन्न नसके पनि जियोलोजिस्टको भाषामा यो खतराको सूचक हो ।’ हाइड्रोलोजिस्ट डा. विष्णु पाण्डेका अनुसार इसिमोडको सन् २०११ को अध्ययनले मेलम्चीको हिमाली भागमा ४ वटा हिमताल देखाउँछ ।

‘तर त्यो फुटेको देखिन्न । त्यसमाथि सुक्ष्म अध्ययन हुन जरुरी छ । अनि मात्र केही भन्न सकिन्छ । मेलम्ची खोलाको स्लोप बढी छ, जसले त्यहाँ थोरै पानी पर्दा पनि त्यसको गति र ऊर्जा बढी हुन्छ, सम्भवतः यही कारणले शनिबार थोरै पानी पर्दा पनि बाक्लो लेदो बाढी गएको हुनसक्छ’, उनले भने ।

खानी तथा भूगर्व विभागका उपसचिव शिवकुमार बाँस्कोटाले भने, ‘कसरी ती ठाउँमा गेग्रान थपियो थाहा भएन, सम्भवतः नदीले सतहमा थुपा¥यो र पहिरोले थुनियो । अहिले वर्षामा निस्क्यो । चनौटे क्षेत्रमा अझै कटान जारी छ ।’ बाढी र पहिरोले अहिलेसम्म कति क्षति ग¥यो भन्ने कुरा पनि प्राधिकरणले आंकलन गर्न सकेको छैन ।
मेलम्ची आयोजना जोखिममा

सिन्धुपालचोकको भ्रेमाथाङमा गएको पहिरोले काठमाडौँ उपत्यकामाा पानी ल्याउन मेलम्ची आयोजनाको भविष्य संकटमा परेको छ ।
विज्ञहरुले सिन्धुपालचोकको बाढी र पहिरो गएको क्षेत्र अवलोकन र स्याटलाइटले खिचेका तस्बिरहरुको हेरेर मूल्याङ्कनपछि यस्तो आंकलन गरेका हुन् । भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो ।

melamchibadhi1627787505

मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य संकटमा रहेको बताएका हुन् । मेलम्ची अवलोकन गरी आएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माकाअनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ ।

२०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ र अहिले त्यही थेग्रिनी बग्न थालेकाले आयोजनाको बारेमा सोच्नुपर्ने बताए । उनले भने, ‘भ्रेमाथाङमा थुप्रिएको थेग्रिनी झर्ने नै हो । अहिले पो मेलम्चीको टनेल बन्द छ, जान सकेन । टनेल खुलेपछि सबै झरिहाल्छ । त्यसैले मेलम्चीको भविष्य अध्ययन गर्नुपर्ने हुन्छ ।’

१ असारको बाढीबाट पाँचको मृत्यु, १८ बेपत्ता
गत १ असारको बाढीले पाँचको मृत्यु र १८ बेपत्ता भएका थिए । तर, यो पटक स्थानीय सबै सचेत र पूर्व तयारीमा रहेकाले मानवीय क्षति हुन पाएन । मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले भौतिक क्षतिको अनुमान नै गर्न नसक्ने अवस्था बनेको बताए । मेलम्ची नगरपालिकाभित्र १९६ घर काम नलाग्ने भइसकेको छ । शनिबार र आइतबार आएको बाढीले थप दुई घर बगाएको उनले बताए । ६० रोपनी खेतको धान बाली बाढीले बगाएको छ । तटीय क्षेत्रमा आंशिक क्षति पुगेका भौतिक संरचना सबै काम नलाग्ने भएको अर्यालले बताए ।

home

हेलम्बु गाउँपालिकाको नाकोतेदेखि ग्याल्थुमसम्म तीन सय घर बगाएको थियो । शनिबारको बाढी चनौटे बजार छिरेकाले करोडौं मूल्यका पक्की घर धमाधम ढल्न थालेका छन् । यस पटक मात्रै बाढीले बाहुनेपाटीमा रहेको मध्यपहाडी लोकमार्ग जोड्ने लामो मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ । मेलम्चीबाट नदीले धार परिवर्तन गरेर पुलको फाउन्डेसनलाई एकोहोरो हानिरहेकाले पुल जोखिममा परेको छ । भीमटार क्षेत्रमा ४० रोपनी खेतमा लगाएको धान बाली बगाएको स्थानीय सुरेन्द्र दनुवारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७