महाकालीमा तुइन काटिएको घटना : एसएसबीको भूमिकाबारे गृहमन्त्री मौन


१८ श्रावण २०७८, सोमबार
balkrishna khan VdUaUc1Opd

काठमाडौं, १८ साउन । दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा भारतीय पक्षले तुइन काटिदिंदा एक नेपाली युवा वेपत्ता भएको घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले सोमबार राष्ट्रियसभामा जवाफ दिएका छन् । सरकारको तर्फबाट घटनाबारे जानकारी दिने क्रममा उनले तुइन काट्ने कार्यमा संलग्न भारतीय सुरक्षाकर्मी (एसएसबी) बारे मौनता साँधेका छन् ।

गृहमन्त्री खाणले घटनाको जानकारी संसदलाई दिंदै महाकालीको मालघाटमा तुइनबाट तर्ने क्रममा दुःखद, गम्भीर र संवेदनशील घटना भएको मात्रै उल्लेख गरे । त्यस घटनामा प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बलको संलग्नताबारे बोलिरहेको अवस्थामा गृहमन्त्री भने मौन बसेका हुन् ।

‘नेपालका केही नदीहरुमा अझै पनि तर्न तुइनको प्रयोग गर्नु परिरहेको छ । महाकाली नदीमा चार वटा तुइनहरूलाई विस्थापित गरेर झोलुङ्गे पुल निर्माण कार्य अघि बढिरहेको छ’, उनले भने, ‘महाकाली नदीमाथि मालघाटमा पनि झोलुङ्गे पुल बनिरहेको छ । तर अहिलेको असहज परिस्थितिले निर्माण भएको छैन । मालघाट तर्ने क्रममा दार्चुलामा दुःख गम्भीर र संवेदनशील घटना भएको छ ।’

उनले साउन १५ गते बिहान ब्याँसका ३३ वर्षीय जयसिंह धामीसहितका व्यक्तिहरु व्यास–२ बाट सदरमुकाम पुग्न तुइन तर्ने क्रममा घटना भएको बताएका छन् । ‘जयसिंह धामी महाकाली नदीको तुइन तर्ने क्रममा बेपत्ता भएको भनेर नरेन्द्रसिंह धामीसहितले निवेदन दिएका थिए’, उनले भने, ‘नेपालकै मालघाटबाट दार्चुला सदरमुकाम खलंगाका लागि हिँडेका उनीहरुले भारतको छोटो बाटो रोजेका थिए । नेपलको बाटोबाट जान दिनभरी लाग्छ । तुइनबाट पारी गएर धार्चुलाबाट पुल तरेर दार्चुला आउन एक घण्टा मात्रै लाग्छ ।’

उनले दार्चुलाबाट घटना छानबिन गर्न सशस्त्र प्रहरी नायव उपरीक्षक वृजसिंह धामी र नेपाल प्रहरीका डिएसपी नरेन्द्र सिंह धामी घटनास्थल गएको बताए । उनले त्यस घटनाका प्रत्यक्षदर्शी अनिता धामी, विक्रम राङ्खोले र कल्याण धामीलाई जिल्ला ल्याइएको बताए ।

घटनापछि दार्चुला सदरमुकाममा सर्वदलीय बैठक बसेको पनि बताए । ‘जयसिंहको खोजतलास गर्न जिल्ला सदरमुकाम र गाउँका नौवटा प्रहरी पोस्ट परिचालित छन् । सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको छ,’ उनले भने, ‘यो घटनाको छानबिन गर्न १० दिन समय दिएका छौं । केन्द्रमा गठित टोली आजै धनगढी प्रस्थान गरेको छ । छानबिनबाट सत्य तथ्य ल्याउने संकल्प गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७