विद्यालयको अध्यक्ष चुन्ने विषयमा रौतहटमा झडप, १३ जना घाइते (भिडियो)


१८ श्रावण २०७८, सोमबार
shree madhyamik school rautahat

रौतहट, १८ साउन । रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा विवाद हुँदा झडप भएको छ । रौतहटको माधवनारायण नगरपालिका–४ विष्णुपुरस्थित श्री माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूहबीच आइतबार झडप भएको हो । झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरिएको छ । विद्यालयका प्रधानाध्यापक राजेश यादव र पूर्वअध्यक्ष देवनारायणका नाति पारस भण्डारीको समूहले आफ्नो पक्षको अध्यक्ष हुनु पर्ने र माधवनारायण–४ का वडाअध्यक्ष रामदेनी मुखियाले पनि आफ्नो समूहबाट अध्यक्षको तयारी गरेपछि दुई समूहबीच झडप भएको हो ।

विद्यालयको अध्यक्ष बन्न विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेकोले वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । विद्यार्थी भर्नाको सम्बन्धमा कुरा नमिलेपछि विवाद शुरु भएको बताइएको छ ।

बाँसका भाटासहित दुई पक्ष झडपमा उत्रिएपछि १३ जना घाइते भएका हुन् । घटनामा संलग्न दुवै पक्षका एक÷एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धिविक्रम शाहले बताए ।

‘विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुनुपर्ने निहुँमा झडप भएको हो । घटनामा संलग्न रामकलेवर मुखिया र दिलीप कुमार भण्डारीलाई नियन्त्रण लिएका छौं’, एसपी शाहले भने, ‘घटनाका विषयमा कुनै पक्षबाट जाहेरी आएको छैन । थप संलग्नहरुको खोजी भइरहेको छ ।’ घाइतेहरुको अवस्था खतरामुक्त रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान शुरु गरिएको एसपी शाहले जानकारी दिएका छन् ।

भिडियो स्रोत : दीपक अनुराग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७