कोभिड युनिफाइड अस्पतालबाट डा. जागेश्वर गौतमलाई हटाइयो


१८ श्रावण २०७८, सोमबार
dr jageshwor

काठमाडौं, १८ साउन । सरकारले प्राध्यापक डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई उक्त स्थानबाट सोमबारदेखि लागु हुने गरी हटाएको प्रवक्ता प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । उक्त अस्पतालको जिम्मेवारी सम्हालेदेखि नै गौतम विवादमा तानिएका थिए ।

सोमबार पनि उक्त अस्पतालका स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमलाई कार्यालयमा छिर्न निषेध गर्दै धर्ना दिएका थिए । सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको थियो ।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मा मन्त्रालयकै तत्कालीन स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहेका गौतमलाई दिइएको थियो ।

डा. गौतमले उक्त अस्पतालका कर्मचारीको मागबारे छलफल गर्न खोज्दा प्रहरी झिकाएर स्वास्थ्यकर्मी र कर्मचारीमाथि कुटपिट गराएको आरोप लागेको थियो । कोभिड युनिफाइड अस्पतालबाट हटाइएका उनलाई थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । उनी यसअघि पनि त्यहाँ कार्यरत थिए । यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७