नेपालकाे विश्वकप खेल्ने सपनामा धक्का


२७ आश्विन २०७४, शुक्रबार
NEP Vs HK
Nepal vs Hongkong match . Photo/Hemanta Shrestha

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग फराकिलो अन्तरले पराजित भएको छ ।  शुक्रबार हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङसँग नेपाल  ८३ रनले पराजित भएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई अल आउट गरेको थियो । हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

NEP Vs HK

जवाफी व्याटिङमा आएको नेपालले आशातित व्याटिङ गर्न सकेन । सुरुआती व्याट्सम्यान सस्तै रनामा आउट भएपछि नेपाली इनिङ्स धर्मरिएको थियो । नेपाल ३४.५ ओभरमा अल आउट भएको थियो । उसले जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो । ओपनर सागर पुनलाई ३ रनमा गुमाएको नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई २१ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । १२.४ ओभरमा टिमको स्कोर ४६ रन हुँदा अइजाज खानको बलमा मल्ल क्याच आउट भए ।
१३ बलमा ३ रनमात्र बनाउँदै दिपेन्द्र सिंह ऐरीले आउट भए । त्यतिबेलासम्म नेपालले १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ५६ रनमात्र जोडेको थियो ।  नेपालको तर्फबाट  सर्वाधिक २६ रन बनाएका कप्तान पारस खड्का १९औं ओभरमा आउट भए ।  छैटौं नम्बरमा विनोद भण्डारीको साटो सोमपाल कामीलाई पठाइयो ।  सोमपाल पाँचौं विकेटको रुपमा व्यक्तिगत ११ रनको स्कोरमा आउट हुँदा नेपालले ९१ रन बनाएको थियो । बाँकी २० रन जोड्दा नेपाल अलआउट भयो ।
आरिफ शेखले २३ रन जोडे भने बिनोद भण्डारीले १८ रन जोड्दा बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछानेले खाता खोल्नै सकेनन् । सुशान भारी १ रनमा अविजित रहे । हङकङका लागि एहेसान खानले ५ विकेट लिए । उनले ५।५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिएर ५ विकेट लिए ।
हङकङले  निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो ।  नेपालका लागि चौथो ओभरको  करण केसीको  ओपनर अंशुमन रथ खाता नखोली पेविलियन फर्काएका थिए । सुस्त गतिमा रन बनाएको हङकङले ११औं ओभरको पाचौं बलमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमायो । उसका कप्तान बाबर हायत २९ रनको व्यक्तिगत स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट रनआउटको शिकार भए ।
हङकङको तेस्रो विकेट युवा स्पिनर सन्दिप लामिछानेले लिए । १७.४ ओभरमा हङकङले ७० रन बनाउँदा अनुभवी ब्याट्सम्यान निजाकात खानलाई १२ रनको व्यक्तिगत स्कोरमा सन्दिपले विकेटकिपर बिनोद भण्डारीको हातबाट स्टम्पिङ गराए । २९.३ ओभरमा टिमको स्कोर १०८ रन हुँदा वाकाश खान १४ रनको स्कोरमा बसन्त रेग्मीको बलमा आउट भए ।  ३०.४ ओभरमा साहिद वाासिफ १ रनमै सन्दिप लामिछानेको बलमा एलबीडब्ल्यू आउट भए ।
३३.१ ओभरमा इशान खान बसन्तको बलमा खाता खोल्नै नपाइ पेविलियन फर्किए भने ३४.२ ओभरमा अइजाज खान पनि शुन्य रनमै सन्दिपको बलमा कट एट बल भए । ४१औं ओभरको चौथो बलमा नेपालले हङकङका ओपनर अत्किन्सनलाई ७६ रनको व्यक्तिगत स्कोरमा सुशान भारीको बलमार्फत एलबीडब्ल्यूको शिकार बनायो । ११७ बलको सामना गरेका उनले ९ चौका र १ छक्काको सहयोगमा ७६ रनको शानदार पारी खेलेका थिए ।
१४४ रन हुँदा आठौं विकेट गुमाएको हङकङका लागि तान्वीर अफजल र इशान नावाजले नवौं विकेटका लागि ३८ रनको ठोष साझेदारी गरे । ४७.४ ओभरमा करण केसीको बलमा सागर पुनबाट ब्याच आउट हुनुअघि अफजलले ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए ।

विश्वकप खेल्ने सपना लगभग सक्कियो
पराजयसँगै नेपालको विश्वकप खेल्ने सपना लगभग सक्किएको छ । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न आजको खेलमा  जित्नै पर्ने थियाे ।  पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ । त्यसमात्र होइन  ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा खस्किने खतरा पनि कायमै छ ।
विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

Nepal vs hongkong

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७