मेलम्चीको बाढीले थप सात घर बगायो, बाहुनेपाटी बजार पनि जोखिममा


१९ श्रावण २०७८, मंगलवार
Melamchi Badhi Flood

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले थप सात घर बगाएको छ । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ मा सात घर बगाएको हो ।

गत असार १ गते आएको बाढीले कटान गरेका घर गए राति आएको बाढीले बगाएको स्थानीयले बताएका छन् । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहित स्थानीयका छ र पुरानो बजारको एउटा घर बाढीले बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।

गएको शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाइसकेको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

बाढीको कारण चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७