मनाङलाई स्थलमार्गसँग जोड्न सडक डिभिजनले थाल्यो काम


१९ श्रावण २०७८, मंगलवार
manang flood cjQs30VKCI

मनाङ, १९ साउन । लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढी–पहिरोले डुम्रे–बेंसीसहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ ।

क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनका लागि स्थानीय तह, प्रदेश र संघ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम गरिरहेका छन् । सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागिपरेको प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङले बताए ।

उनका अनुसार जनप्रतिनिधि विपत्मा परेका स्थानीयवासीको उद्धारसँगै सडक सञ्जालसँग जोड्न लागिपरिरहेका छन् । ‘मैले सडक नै प्रमुख आवश्यकता मानेको छु । स्थानीय तहदेखि केन्द्रसम्म गरेको प्रयासले सार्थकता पाउँदै आएको छ । केही ठाउँमा सडक पुनः सञ्चालन गर्न सकिएको छ, अब एकदम अप्ठ्यारो ठाउँमा कसरी बाटो खुलाउने र बाटोलाई कसरी दिगो बनाउने भनेर सडक विभागलगायतका सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको छु’, सांसद गुरुङले भने ।

जिल्लाकै ‘लाइफलाइन’ का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङवासीलाई दैनिकी चलाउन धौ–धौ भएको छ । बाढी–पहिरोका कारण घरबारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न समेत कठिनाइ छ । साथै, जिल्लामा आवतजावत गर्न सहज वातावरण तयार गर्नुपर्ने अवस्था छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी मानिसको आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको थियो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको छ । ‘बाढी–पहिरोका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर सहयोग गरिरहेको छु । दुःख–सुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु’, अध्यक्ष घलेले भने ।

यस्तै, मनाङका अधिकांश जनप्रतिनिधिले नै डेढ महिनादेखि त्रिपालमुनि बसेर सहयोग र साथ दिँदै आएका छन् । बाढी–पहिरोले चारवटै गाउँपालिका जोड्ने सडकमा क्षति पुगेपछि जनजीवन प्रभावित हुनाका साथै कठिनाइ भइरहेको छ । बाढीले माथिल्लो मनाङको वडा नम्बर–१ पिसाङदेखि चामे गाउँपालिकाको पाँचवटै वडा र नासो गाउँपालिकाका सबै वडा पूर्ण रूपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

उनका अनुसार मनसुनको प्रभाव निरन्तर परिरहेकाले समयमा काम गर्न कठिनाइ भएको छ । हाल मौसम अनुकूल भएसँगै सडक प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उनले बताए । कम क्षति पुगेको ठाउँका सडक स्थानीय तहको सहकार्यमा प्राविधिक टोलीले मर्मतको काम गरिरहेको सडक डिभिजन लमजुङका इन्जिनियर सुमन अधिकारीले जानकारी दिए । ‘सडक स्तरोन्नतिको काम गरिरहेको अवस्थामा बाढी–पहिरोले क्षति पु¥याएको थियो, बाढी–पहिरोको जोखिम कम हुने बित्तिकै कामलाई निरन्तरता दिएका छौं’, अधिकारीले भने ।

सडक सञ्जाललाई पूर्ण रूपमा सञ्चालनका लागि नेपाली सेनाका इन्जिनियर इन्दिवर गुरुङको प्राविधिक टोली र सडक डिभिजन कार्यालयका प्राविधिकले अनुगमन तथा निरीक्षणपश्चात् प्रतिवेदन सम्बन्धित निकायलाई बुझाइसकेका छन् । जिल्लाभित्रका केही ठाउँमा सवारी आवगमन पुनः सञ्चालन भएका छन् ।

मनाङको ङिस्याङ गाउँपालिकाको पिसाङदेखि खाङ्सारसम्म, चामे गाउँपालिकाको तिमाङदेखि ङिस्याङ गाउँपालिकाको सिमानासम्म र लमजुङको सदरमुकाम बेंसीसहरदेखि मनाङको सीमानासम्म हाल यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय लमजुङले जनाएको छ ।

यस सडकखण्डको १०७ किलोमिटरमध्ये लमजुङतर्फको ३५ किलोमिटर अस्थायी रूपमा सञ्चालन भएको छ भने मनाङतर्फको करिब १२ किलोमिटर सञ्चालनमा आए पनि अझै ६० किलोमिटर सडक मर्मत गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७