कञ्चनपुरमा पहिलो पटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो


१९ श्रावण २०७८, मंगलवार
lampi rgpFlltC2Z

कञ्चनपुर, १९ साउन । पशुमा देखिने लम्पी स्किन रोग पहिलो पटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए ।

‘यस्तोे सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौं’, उनले भने ।

छ किसानका दुई दर्जन भन्दबढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ ।

भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको स्थानीय किसान वीरसिंह महराले बताए ।

‘रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ’, पशु शाखा अधिकृत भट्टले भने, ‘सङ्क्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरेका छौं ।’ रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७