दार्चुला घटनाको प्रतिवेदन आएपछि सरकारले आवश्यक कदम चाल्छ : गृहमन्त्री खाँण

‘छानविन टोली दार्चुला पुगिसक्यो, मालघाट–खलंगा बाटो बन्छ’


१९ श्रावण २०७८, मंगलवार
balkrishna khan pFH0cYGcy4

काठमाडौं, १९ साउन । गृहमन्त्री बालकृष्ण खाँणले भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर दार्चुलाको महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको विषयमा जस्तो प्रतिवेदन आए पनि सार्वजनिक गर्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा शून्य समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदन जे आएपनि सार्वजनिक हुने र त्यही आधारमा जस्तोसुकै कदम चाल्ने घोषणा गरे । ‘छानबिन समितिले प्रतिवेदन बुझाएपछि नै अन्तिम निष्कर्ष निस्किने छ,’ खाँणले भने, ‘दार्चुलाको स्थानीय, प्रदेश सरकार, त्यहाँका जनप्रतिनिधि सबैसँग छलफल भएपछि तथ्य र सत्य पत्ता लगाएर तथ्यसत्यको आधारशिलामै प्रतिवेदन बन्ने हो, नेपाल सरकारले जे तथ्य हो, त्यही नै सार्वजनिक गर्नेछ ।’

उनले दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै नरेन्द्रसिंह धामीलगायत तीन जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उल्लेख गरे ।

घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाटसहित तीन जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको गृहमन्त्री खाँणले सदनलाई जानकारी गराए ।

बहादुरसिंह धामी, गौरासिंह धामी लगायत चार जना जयसिंह धामी भन्दा अगाडि नै तुइन तरी पारी पुगेकाहरूसँग जानकारी लिने काम भइरहेको उनको भनाई छ । पुल तर्न बाँकी रहेका चार जनालाई जिल्ला सदरमुकाम बोलाई जानकारी लिने काम भइरहेको मन्त्री खाँणले उल्लेख गरे । दार्चुलामा रहेका विभिन्न सुरक्षा अङ्ग तथा भारतीय सुरक्षाकर्मी एसएसबीको तर्फबाट पनि बेपत्ता भएको धामीको खोजको काम भइरहेको मन्त्री खाँणले बताए ।

यस्तै साउन १७ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र दार्चुलाका सहायक जिल्ला अधिकारी जोत्सना भट्टको छानबिन समिति बनाएको र १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको बताए । छानबिन टोली दार्चुला पुगेको उनको भनाई छ ।

‘मालघाट–खलंगा बाटो बन्छ’
गृहमन्त्री खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुँदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्‍याउन प्रतिवद्ध रहेको बताएका हुन् । ‘मालघाटबाट खलंगासम्म बाटो पुर्‍याउन सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु’, मन्त्री खाणको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७