संसदमा गगनको प्रश्न : दार्चुलामा तुइन काटिएको पुष्टि भए नेपालले भारतसँग लड्न सक्छ ?


१९ श्रावण २०७८, मंगलवार
Gagan thapa

काठमाडौं, १९ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले दार्चुलामा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले नेपाली युवा सवार तुइन काटेको घटनामा नेपालले बलियो प्रमाणसहित भारतसँग लड्नुपर्ने बताएका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै उनले गत साउन १५ गते दार्चुलाको ब्यासस्थित मालघाटको महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका युवक जयसिंह धामीको पक्षमा नेपालले भारतसँग दह्रोसँग लड्नुपर्ने बताएका हुन् । उनले दार्चुलामा तुइन काटेर बेपत्ता भएका जयसिंह धामीको केसमा भारतीय पक्षसँग नेपाल सरकारले लड्न सक्छ कि सक्दैन भनेर पनि प्रश्न गरेका छन् ।

संसदमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त घटनाबारे अध्ययन गर्न छानबिन टोली बनाएको जवाफ दिएपछि बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । उनले दार्चुलाको मालघाट घटनालाई सन् २०१२ मा भारतको केरलामा भएको घटनासँग तुलना गरेका छन् ।

आफ्ना दुई मछुवारलाई हत्या गरिदिएको विरोधमा इटलीसँग भारतले लगातार लडेको प्रसङ्ग उठाउँदै थापाले नेपाल सरकारले पनि अहिले जयसिंह धामीको केसमा त्यसैगरी लड्नुपर्नेमा जोड दिए । यदि जयसिंहको मृत्यु एसएसबीले तुइन काटेरै भएको पुष्टि भएमा भारतले इटालीसँग लडे जस्तै नेपाल सरकार लड्न सक्छ कि सक्दैन ? भनेर पनि थापाले गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

‘भारतीय सीमा सुरक्षा बल, एसएसबीको कुनै संलग्नता नरहेको भन्ने जिकिर गरेको सञ्चार माध्यममा आयो । सत्य के हो ? भारतीय पक्षले आधिकारिक रुपमा आफ्नो पक्षको संलग्नता नभएको भनेर भनेको हो ?’, थापाले संसदमा गृहमन्त्रीलाई प्रश्न गरे, ‘यदि भारतले यस्तो दाबी गरेको हो भने सरकारले गठन गरेको छानबिन समितिलाई कस्तो सहयोग गर्ला ? हाम्रो छानबिन समितिले सत्य तथ्य पत्ता लगाएर बाहिर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनु हुन्छ ?’

जयसिंह धामीको विषयमा सत्यतथ्य आइसकेपछि, उनको अवस्था पत्ता लागेपछि सरकारले जसरी भारत इटलीसँग लड्यो, त्यसै गरी नेपाल सरकार पनि भारतसँग डटेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । त्यो कुराको विश्वास गृहमन्त्रीले संसदलाई दिलाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७