वडाध्यक्षद्वारा कार्यालयमै डोरीले बाँधेर युवकमाथि निर्घात कुटपिट


२० श्रावण २०७८, बुधबार
Jajarkot 2ibhNyRFWn

जाजरकोट, २० साउन । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर नेपालीले स्थानीय एक युवकलाई कार्यालय परिसरमै डोरीले बाँधेर निर्घात कुटपिट गरेका छन् ।

साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई बाँधेर निर्घात कुटपिट गरेका हुन् । वडाध्यक्षले कुटपिट गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि अहिले घटनाप्रति धेरैको चासो बढेको छ ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेला मदिरा सेवन गरेर आएका नेपालीले अपशब्द बोल्दै ढुङ्गा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ । मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा दिने क्रममा स्थानीयबाट ती युवामाथि केही हातापात भएको प्रहरीले बताएको छ। घटनाको विषयमा अहिलेसम्म कुनै पक्षबाट उजुरी नआएको स्थानीय प्रहरीले जनाएको छ ।

सम्बन्धित पक्षबाट उजुरी आएमा आवश्यक छानविन गरी दोषीमाथि कारबाही गरिने प्रहरी निरीक्षक खुमानन्द न्यौपानेले बताएका छन् । यता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाप्रति चासो राखेका छन् । उनले असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि कानुनी कारबाहीको भागिदार बन्नुपर्ने बताएका छन् । प्रवक्ता शर्माले घटनाप्रति गृहमन्त्री बालकृष्ण खाँडकोसमेत ध्यानाकर्षण गराएका छन् ।

‘जाजरकोट जुहिचाँदेको घटना निन्दनीय छ । असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नै पर्छ’, शर्माले बुधबार बिहान ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराउँदछु, यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको एक्यवद्धता जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७