सरकारी छानविन समिति दार्चुला पुगेर थाल्यो घटना अनुसन्धान


२० श्रावण २०७८, बुधबार
mahakali tuin js dhami FF1hqX3wBe

दार्चुला, २० साउन । सरकारी छानविन समिति दार्चुला पुगेर भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिंदिंदा एक नेपाली युवकको ज्यान गएको घटनाको अनुसन्धान थालेको छ । दार्चुला घटनाको छानविन गर्न गृह मन्त्रालयको टोली आज (मंगलबार) दार्चुला पुगेको हो ।

महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबीले) तुइनको डोरी खोलिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानविन टोली सो घटनाको छानविन गर्न मंगलबार दार्चुला पुगेको हो ।

छानविन टोलीका सदस्यहरुले घटनास्थलका प्रत्यक्षदर्शीसँग भेटेर घटनाको बारेमा सोधपुछ गर्ने छन् । व्यास–२ का ३३ वर्षीय जयसिंह धामी गत साता भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउन लाग्दा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी बेपत्ता हुँदाका तीन जना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ ।

अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताइन् । प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्यान सिंह धामी र अनिता धामीलाई सोमबार नै जिल्ला सदरमुकाम दार्चुला ल्याइएको सहायक प्रजिअ जोशीले बताए ।

प्रत्यक्षदर्शीको सुरक्षाका लागि तीनै जना जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अहिले तिनै जनालाई बोलाएर प्रत्यक्ष कुराकानी गरिने सुरक्षा स्रोतले जानकारी दिएको छ । अहिले सामान्य सोधपुछ गरिने र भोलि बिहान पत्रकार, जनप्रतिनिधिसँत कुराकानी गरिने संयोजक जनार्दन गौतमले बताए ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् ।

नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएपछि धामी महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यद्यपि भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ ।

छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ । जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७