कुलमान घिसिङको लागि ठाउँ खाली गर्न तयार छु : हितेन्द्रदेव शाक्य {भिडियो}

‘उचित ठाँउमा जिम्मेवारी दिएर सरकारले जहाँ पठाए पनि जान तयार छु’


२० श्रावण २०७८, बुधबार
hitendra dev sakya and kulman ghising

काठमाडौं, २० साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शाक्यलाई राजीनामा दिन निर्देशन दिँदै उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएपछि बुधबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै निर्देशक शाक्यले आफुलाई वैकल्पिक बाटो दिएर उचित ठाँउमा पठाएर जिम्मेवारी दिए स्वीकार गर्ने बताएको होे ।

उनले आफुलाई राजीनामा दिन कसैले नभने पनि तर अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिए । आफुले राम्रो काम गरिरहेकाले जिम्मेवारीबिहीन गर्न नमिल्ने उनको तर्क छ ।
उनले भने,‘ ‘मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको हो । मैले चाहिँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भनेको छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बी, इन्जिनियरिङमा आफूमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी प्राविधिकमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरै वटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’

त्यस्तै शाक्यले आफुले प्राधिकरणलाई अघि बढाउन धेरै काम गरेको दावी गरे । कोरोनाको जोखिमका बाबजुत पनि प्राधिकरणले सुधारात्मक काम गरेको उनको भनाई छ । उनले भने, ‘कोरोना सङ्क्रमणका कारण लकडाउन भएको भए पनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेका छौँ । अघिल्लो वर्षभन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको छ । अस्पतालहरूलाई विद्यु्त नजाने गरी बस्दोबस्त मिलाएको तथा गइ हालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको छौँ ।’

यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लामा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलो पटक सात ग्रिडको विद्युत् र्पुयाएको उनले बताए ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उहाँले बताउनुभयो । आउँदा दिनमा प्रसारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७