युवकलाई बाँधेर कुट्ने जुनिचाँदेका वडाध्यक्ष पक्राउ


२१ श्रावण २०७८, बिहीबार
juni

जाजरकोट, २१ साउन । कार्यालय परिसरमै युवकलाई दाम्लोले बाँधेर निर्घात कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

साउन १५ गते स्थानीय युवक सर्पे दमाइलाई वडा कार्यालय परिसरमै डोरीले बाँधेर निर्घात कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिएका छन् ।

‘वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

rambahadur nepali junichande 2 jkt
जुनिचाँदे-२ का वडाध्यक्ष रामबहादुर नेपाली

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ । ‘हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौं, पीडितले जाहेरी नदिए पनि कानून बमोजिम कारबाही हुन्छ,’ उनले भने ।

वडाध्यक्ष नेपालीले युवकलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । उक्त भिडियो बाहिरिएपछि कुटपिटको घटनाप्रति राष्ट्रियस्तरमा चासो बढ्नुका साथै उक्त कार्यको आलोचना भएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै कुटपिटमा संलग्नलाई कारवाही गर्नुपर्ने सामाजिक सञ्जालमार्फत बताएका थिए ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम भइरहेका बेला मदिरा पिएका युवक सर्पे दमाइले होहल्ला गर्नुका साथै अपशब्द बोलेको आरोप वडाध्यक्षले लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७