केन्द्रीय कमिटीअघि माधव पक्षको स्थायी कमिटी बैठक


२१ श्रावण २०७८, बिहीबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, २१ साउन । अध्यक्ष केपी शर्मा ओली पक्षसँगको विवादलाई ‘छिनोफानो’ गर्ने तयारी साथ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक डाकेको छ ।

माधव पक्षले बिहीबार केन्द्रीय कमिटी सदस्यहरुको बैठक डाकेको हो । वरिष्ठ नेता नेपालले बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा स्थायी कमिटी बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन नेताहरु भीम रावल र अष्टलक्ष्मी शाक्यसहित बुद्धनगर पुगिसकेका छन् । माधव पक्षको स्थायी कमिटीले केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने भएको छ ।

स्थायी कमिटीले एजेण्डा तय गरिसकेपछि आजै बुद्धनगरमै केन्द्रीय कमिटी बैठक बस्दैछ । स्थायी कमिटी सदस्यसहित दोस्रो पुस्ताका नेताहरुले नेपाललाई एमालेमै मिल्न दबाब दिइरहेका छन् । तर एमालेमा बस्ने मुडमा नरहेका नेपालले आफ्नो पक्षमा बलियो साथ रहेको केन्द्रीय कमिटी बैठक डाकेका हुन् । नेता नेपालले यो केन्द्रीय कमिटी बैठकमार्फत ओलीसँगको विवादको छिनोफानो गर्ने अनुमान गरिएको छ ।

यही बैठकबाट नेपाल पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने नजाने पनि टुंगो गर्ने अनुमान छ । एकताका लागि सहमति नभइरहँदा उनीहरु अबको कार्यदिशाबारे ठोस निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ । नेपाल निकट एक केन्द्रीय सदस्यका अनुसार धेरैजसो नेताहरुले एकता नभए सरकारमा जाने प्रस्ताव गरिरहेका छन् ।

अध्यक्ष केपी ओलीसँग नेपालको सहमति हुन नसक्दा उनीहरुको पछिल्लो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष ओली पक्षले भने नेपाल पक्षको बैठकप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । बुधबार एक विज्ञप्ति निकाल्दै बिहीबारको बैठक नगर्न पनि चेतावनी दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७