साउन महिनापछि कोरोना भाइरस संक्रमण घट्दै जाने

आउँदो पाँच महिनामा करिब दुई लाख संक्रमित थपिने, नौं हजार संक्रमित गम्भिर देखिने


२१ श्रावण २०७८, बिहीबार
health

काठमाडौं, २१ साउन । सरकारले आउँदो पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । यद्यपि यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर घट्दै जानेछ । लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको जानकारी दिए । साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार पुग्ने मन्त्रालयको अनुमान छ ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने तथा तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने पनि सरकारले जनाएको छ ।

कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशत व्यक्तिको कोरोना परीक्षणसम्पन्न भएको छ भने २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको देखिएको छ । साउन २० सम्म ७ लाख ६९ हजार नौ सय २२ जनामा संक्रमण देखिएको छ भने कोभिड १९ बाट ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको छ । साउन २० सम्ममा नेपालमा कोरोना खोपको पहिलो मात्रा ४२ लाख ९७ हजार ६ सय १२ जना तथा पूर्ण खोप २० लाख ७४ हजारले लगाएको पनि लोहनीले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७